मकवानपुरमा बाढी पहिरोले १ अर्ब ६९ लाखको क्षति

बागमती । हालैको बाढी पहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख भन्दा बढीको भौतिक क्षति भएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ अर्ब ६९ लाख ३५ हजार ७ सय ३५ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिका मध्ये सबै भन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए । 

जिल्लाका १० पालिकाका १ सय ३४ घर पूर्ण रुपमा र १ सय ८३ घर आंशिक रुपमा क्षति भएका उनले बताए । पाँच पालिकाका १६ वटा झोलुङ्गे पुल र ५१ वटा सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत् लगायत ५८ वटा पूर्वाधारमा क्षति भएको उनले बताए । 
      
बाढी पहिरोमा परी जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा ६, मनहरी गाउँपालिकामा २, मकवानपुरगढीमा १  र बागमती गाउँपालिकामा १ गरी १० जनाको मृत्यु भएको थियो । थाहा नगरपालिकामा २ जना, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका र बागमती गाउँपालिकामा एक–एक जना गरी ६ जना घाइते भएका थिए ।
रासस  

     
      

प्रतिक्रिया