विद्युतको बिल तिर्न उद्योगीलाई १५ दिनको समय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बाट विद्युत् आपुर्ति लिएका उपभोक्तालाई बक्यौता तिर्न १५ दिनको समय दिएको छ ।
बिहीबार प्राधिकरणले सूचना जारी गर्दै त्यस्ता उपभोक्तालाई १५ दिन भित्र बक्यौता तिर्न आउन भनेको हो । २०७२ माघ देखि २०७५ वैशाख सम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार रकम भुक्तानी गर्न प्राधिकरणले भनेको हो ।
विद्युत् महशुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले विभिन्न उद्योगमा लाइन काटेको थियो । मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले लाइन काटिएका उद्योगहरूमा एक साता भित्र लाइन जोडिसक्न प्राधिकरणलाई निर्देशन दिदै १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठक र सञ्चालक समितिको निर्णय अनुसार नै १५ दिनभित्र तिरिसक्न प्राधिकरणले त्यस्ता उपभोक्ताहरूलाई आग्रह गरेको हो । तोकिएको समयमा बक्यौता महशुल भुक्तानी नभएमा पुन: विद्युत काटिने प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया