रवि लामिछानेको बयान आज पनि जारी रहने
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुर अनुसन्धानका लागि पोखरा बाट भैरहवा ल्याइएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेको बयान आजपनि हुने भएको छ ।
मंगलबार र बुधबार गरी १३ घण्टा भन्दा बढी लगाएर लिइएको बयानका क्रममा उनले बुटवलको सुप्रिम सहकारी बाट आफ्नो नाममा प्रवाह भएको ऋण बारे अनभिज्ञता व्यक्त गरेका छन् । गोर्खा मिडिया नेटवर्क प्रा.लि.का पूर्वप्रबन्ध निर्देशक लामिछाने सँग बुधबार बिहान सवा १० बजे देखि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिन शुुरु गरिएको थियो ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल सहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले उनको बयान लिइरहेका छन् । बयानका क्रममा दुई दिनमा गरी ५० भन्दा बढी प्रश्न सोधिएको र यस अघि नै तयार गरिएका झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको बताइएको छ ।
बुटवल उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम सहकारी बाट रविका नाममा २०७७ चैत १८ मा २ करोड ऋण प्रवाह भएको थियो । सहकारी संस्थाले सेवाशुल्क काटे पछि १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा जम्मा गरिएको थियो । रवि र रोशनी गुरुङका नाम बाट छुट्टै १ करोड रुपैयाँ पनि ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा गरिएको थियो । ऋण प्रवाह भएका बेला रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए ।
दुई दिन सम्म जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दिएको बयानमा रविले सुप्रिम सहकारी प्रकरणमा निर्दोष रहेको जिकिर गरेका छन् ।
प्रतिक्रिया