निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौ। संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाल यू–१९ महिला विश्वकपमा छनोट भएको छ। एसिया छनोटअन्तर्गत बुधबार भएको खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो। चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५-५ जित निकाल्दा १०-१० अंक जोडे। नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो।

दुवै टोलीले एक-एक खेलमा हार ब्यहोरे। युएईले पहिलो चरणको लिगमा नेपाललाई हराएको थियो। बुधबार नेपालले युएईलाई दोस्रो चरणको लिगमा पराजित गरेसँगै रनरेटमा अघि रहन सफल भयो।

यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा भएको निर्णायक तथा अन्तिम खेलमा युएई दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्‍यो। चाडै लक्ष्य पूरा गर्दा नेपालले रनरेट सुधार गर्न सफल भएको हो।

नेपालका लागि सना प्रविनले सर्वाधिक ३५ रन बनाइन्। कप्तान पूजा महतोले २१ र सावित्रा धामीले १२ रन बनाइन् । साथै, सोनी पाख्रिनले १३ रन जोडिन्।

यसअघि घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। यूएईका लागि समाइरा धरनिधर्कले ३० र रिनिता राजितले २० रन बनाइन्।

नेपालका लागि कृश्मा गुरुङले ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २–२ तथा रचना कुमारी चौधरीले १ विकेट लिइन्।

प्रतिक्रिया