‘वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने’
पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन् । नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै आज बुधबार उनले वर्षौंदेखिको मुआब्जा विवाद आफ्नै कार्यकालभित्र टुङ्गो लगाउने प्रतिबद्धता जनाएका छन् ।
“आजै म काठमाडौं जाँदैछु, सङ्घीय युवा तथा खेलकुदमन्त्रीसँग भेटेरै मुआब्जा विवाद सम्बन्धी फाइल अर्थ मन्त्रालय पठाउन आवश्यक पहलकदमी गर्नेछु”, उनले भने, “राज्यको न्यून लगानीको बाबजुद पनि खेलाडीले मेहनत गरिरहेका छन् । खेलाडीको प्रोत्साहनका लागि प्रदेश सरकारले पनि हातेमालो गरेर अघि बढ्न चाहान्छ ।”उनले प्रदेश सरकारसँग सीमित स्रोतसाधन भएकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए ।
“प्रदेश सरकारले क्रिकेट मैदानका लागि थोरै बजेट विनियोजन गरेको छ । सो बजेट पर्याप्त छैन । यद्यपि आगामी आवको बजेटमा थप गर्नेछौँ”, उनले भने । क्रिकेट स्ङ्घ पर्साका अध्यक्ष मनिष सिंहले मुआब्जा विवादका कारण क्रिकेट मैदानलाई तारजालीले घेराबेरा गर्न समेत नसकेको गुनासो गरे । “करिब चार कट्ठा जग्गाको मुआब्जा विवाद टुङ्गो नलाग्दा मैदान संरक्षणको काम गर्न समस्या भइरहेको छ”, उनले भने , “हालसालै वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’लाई स्तरोन्नति गरी खेल्न मिल्ने बनाइसकेका छौँ ।”
प्रतिक्रिया