रामवीर मानन्धर एमालेमै फर्किए
काठमाडौं । पूर्व सांसद रामवीर मानन्धर एमालेमै फर्किएका छन् ।
मानन्धर २०७० र २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने उनी मन्त्री समेत भएका थिए ।
उनी आउँदो मंसिर १६ गते हुने काठमाडौं काठमाडौं महानगरपालिका वडा नम्बर –१६ को उपचुनावमा एमालेलाई जिताउने घोषणा गर्दै पार्टीमा फर्किएका हुन् । मानन्धर बिगत ३ वर्षदेखि एमालेको राजनीतिमा निस्क्रिय रहेका थिए । मानन्धर २०४९ र २०५४ मा दुईपटक– १६ नम्बर वडाको वडाध्यक्षमा पनि निर्वाचित भएका थिए ।
२०७९ को निर्वाचनमा एमालेले टिकट नदिएपछि उनले प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेला मानन्धरले १२ सय मत पाएका थिए । स्वतन्त्र उम्मेदवारी दिएपनि उनले एमाले छोडेको बताएका थिएनन् । मानन्धर एमालेमा फर्किएर –१६ नम्बर वडाको चुनावी अभियानमा सक्रिय भएको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए । उनी अहिले एमालेका उम्मेदवार जिताउन लागेका छन् ।
गत निर्वाचनमा काठमाडौं–१६ नेपाली कांग्रेसका मुकुन्द रिजालले जितेका थिए। उनको निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो।
एमालेले वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएको छ। गत सोमबार भएको उम्मेदवार घोषणा सभामा मानन्धर पनि सहभागी भएका थिए ।
प्रतिक्रिया