किएभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनी पछि देशभर सावधानी अपनाइँदै
एजेन्सी । युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा रूसले मिसाइल आक्रमणको चेतावनी दिएको बताए पछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राम मार्फत ‘रूसले किएभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाएका छन् ।
युक्रेनी सेनाले बुधबार यस अघि नै युक्रेनी आकाशमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको जानकारी गराएको थियो । “सावधान! चेर्निहिभ क्षेत्र बाट मिसाइल किएभ क्षेत्र तर्फ गइरहेको छ,” यर्माकले टेलिग्राम मार्फत जारी सूचनामा उल्लेख गरिएको छ ।
रूसको एक हप्ताको निरन्तर आक्रमण पछि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको मृत्यु भएको थियो । पछिल्लो समयमा मस्को र किएभले एक अर्कालाई लक्षित गरी २४ घण्टा आक्रमणहरू गरिरहेका छन् ।
रूसी क्षेत्र कुस्र्क बाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकु सहित करिब ५० हजार सैनिक तयार पारेको जेलेन्स्कीले बताएका छन् ।
रासस
प्रतिक्रिया