रविको दोस्रो दिनको बयान जारी, बाहिर रा.स्व.पा.को प्रदर्शन
काठमाडौ। सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएर बयान लिने काम जारी रहेको छ। मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको बयान नसकिएपछि बुधबार बिहान साढे १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरिएको हो।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि उनलाई रुपन्देही लगिएको हो।
बुधबार बयान सकिए लामिछानेलाई साँझ नै पोखरा पठाइने प्रहरीले जनाएको छ।
रवि लामिछाने बयार जारी रहदै गर्दा पक्राउको विरोधमा आज पनि भैरहवामा प्रदर्शन भएको छ। भैरहवाको लुम्बिनी रोडबाट रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा नाराबाजी गरेका हुन्। आज बुद्धचोकमा कोणसभा गर्ने रास्वपा को तयारी रहेको छ। पार्टीले हिजो पनि सोही ठाउँमा विरोध सभा गरेको थियो । बुटवलको सुप्रिम सहकारीमा बचत ठगी गरेको आरोपमा लामिछानेलाई हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो।
प्रतिक्रिया