रुसी सेनाको बिरोध गरेको भन्दै ६८ वर्षीया चिकित्सकलाई पाँच वर्षको जेल सजाय
एजेन्सी । एकजना रुसी चिकित्सकलाई युक्रेनयुद्धको टिप्पणी गरेको आरोपमा पाँच वर्षको जेल सजाय तोकिएको छ ।
६८ वर्षीया बालरोग विशेषज्ञ नादेज्दा बुयानोभालाइ रुसी अदालतले सो जेल सजाय सुनाएको हो । बालरोग विशेषज्ञलाई आफूले उपचार गरिरहेको ७ वर्षीय बालककी आमाले प्रहरीमा उजुरी गरेकी थिइन् ।
ती महिलाले युक्रेन युद्धमा मारिएका बालकका बुबा अर्थात आफना श्रीमान र रुसी सैनिकबारे डाक्टरले नकारात्मक टिप्पणी गरेको भन्दै उजुरी दिएकी थिइन् । तर अदालतमा बुयानोभाले ती महिलाले लगाएको आरोप अस्वीकार गरेकी थिइन् र आफूले त्यस्तो टिप्पणी गरेको प्रमाणित गर्न कुनै अडियो वा भिडियो रेकर्डिङ भए देखाउन चुनौती दिएकी थिइन् । उनले युक्रेनमा रुसी सैन्य अभियान बारे गलत अफवाह फैलाएको आरोप पनि लगाइएको छ ।
अदालतको फैसला आउनु अघि बुयानोभालाई हत्कडी लगाएर अदालत कक्षमा लगिएको थियो । बुयानोभालाई गत फेब्रुअरीमा रुसी सेनाबारे गलत सूचना फैलाएको आरोपमा पक्राउ गरिएको थियो । केही समयको लागि नजरबन्दमा राखेपछि उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो । चिकित्सकका समर्थकले रुसमा भएको यस्तो निर्णयले आफूहरु स्तब्ध भएको बताएका थिए ।
प्रतिक्रिया