उपनिर्वाचनलक्षित नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन: आत्मलोचनासहित प्रत्येक जनतासँग भेट्नुस्

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता र कार्यकर्तालाई उपनिर्वाचन लक्षित भएर आत्मलोचनासहित गाउँघरमा गएर प्रत्येक जनतासँग भेट्न निर्देशन दिएका छन् ।

बुधबार कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै उनले हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर आत्मलोचनासहित जनतामा जान निर्देशन दिएका हुन्।
प्रचण्डले भने,“आजदेखि जम्मा भएर भाषण गर्ने कामभन्दा टोल-टोलमा जनतासँग भेटेर उहाँहरूका कुरा सुनेर आफ्ना प्रतिबद्धता व्यक्त गर्नेमा समय खर्च गर्नुहोला। भाषण गरेर भोट आउँदैन, गाउँघरमा गएर प्रत्येक जनतासँग भेट्यौँ र उनीहरूका कुराहरूलाई सम्बोधन गर्न सक्यौँ भने राम्रो हुन्छ,” उनले थपे, “विगतमा जनताको आवश्यकतालाई ध्यान दिन सकेनौँ, हामी बदलिन चाहन्छौँ । नयाँ अभियान सुरु गर्न चाहन्छौँ, जनतको मुक्तिका लागि नयाँ आन्दोलन गर्छौँ भन्नुपर्‍यो, एउटा अवसर दिनुस् भनेर आत्मसमीक्षासहित, आत्मलोचनासहित प्रत्येक व्यक्तिलई भेट्नुस्। त्यसरी मात्रै निर्वाचन प्रक्रियालाई सकारात्मक बनाउन सकिन्छ।”

उनले आफू नेतृत्वको पछिल्लो सरकारले सकारात्मक प्रयत्न गरेको जनतालाई थाहा भएको दाबी गरे। “देशभरका जनताले यो बुझेका छन् कि हाम्रो नेतृत्वको पछिल्लो सरकारले सकारात्मक प्रयत्न गरेको हो र अहिलेको सरकार किन बन्यो भन्नेबारे पनि जनताले बुझेका छन्,” उनले भने।

उनले कीर्तिपुर नगरपालिका प्रमुखका लागि पार्टीले बनाएको उम्मेदवार डा. शिवशरण महर्जनमाथि कुनै प्रकारको प्रश्नहरू उठाउन नसकिने बताए। महर्जनको छवि स्वच्छ भएको उल्लेख गर्दै उनले यसपटक कीर्तिपुरमा जित्ने दाबी गरे।
 

प्रतिक्रिया