कृषि मन्त्री अधिकारी र मेक्सिकोका कृषि मन्त्री बर्डेगा बीच भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकास मन्त्री जुलियो बर्डेगा बीच भेटवार्ता भएको छ । 

अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सिमिटका महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन तथा सिमिट र नेपाल सरकार बीच दिगो रुपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्य बारे छलफल गर्ने उद्देश्यका साथ नेपाली प्रतिनिधिमण्डल सहित मेक्सिकोमा रहेका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्रीबीच भेट भएको हो । 

भेटमा मन्त्री अधिकारीले कृषिको क्षेत्रमा दुई देश बीचको सम्भावित सहयोग, सिमिटको नेतृत्वमा नेपालमा ‘मास एग्रो मोडल’ कार्यान्वयन र कृषि क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेका छन् । उनले नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकताका साथ बजार पहुँच उपलब्ध गराउन अनुरोध गरेका छन । 

त्यस्तै, मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा. ब्राम गोभाएट्र्स सँग भेटेर नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सहयोगको आग्रह गरेका छन ।

प्रतिक्रिया