राष्ट्रपति पौडेल सँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै
अजरबैजान । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन ९(कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेल सँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले बुधबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेलले बुधबार नेपालका तर्फ बाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्दै छन् । उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या बारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ ।
राष्ट्रपति पौडेल बुधबार नै कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । सम्मेलन अन्तर्गत आयोजना हुने उच्चस्तरीय बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही सहभागी हुनेछन् ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार यहाँ आइपुगेका हुन् । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्री सहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी छन् ।
रासस
प्रतिक्रिया