रुपन्देहीमा रवि लामिछानेको बयान आज पनि हुने

दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने पार्टीको तयारी

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरण अन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुधबार पनि बयान लिइने भएको छ । 

मंगलबार बयान नसकिएकाले बुधबार पनि बयान लिन लागिएको हो । मंगलबार प्रारम्भिक सोधपुछ मात्र गरिएकाले बुधबार थप बयान हुन लागेको हो । रवि विरुद्ध रुपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । 

बयान जारी रहदा सरकारी वकिल कार्यालयको केही पर बुद्धचोक र लुम्बिनी गेट अगाडि रा.स्व.पा. कार्यकर्ता र सहकारी पीडितहरूले बुधबार पनि छुट्टाछुट्टै प्रदर्शनको तयारी गरेका छन् । भैरहवा पछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि काठमाडौंमा बयान लिने तयारी भएको छ । 

यसअघि पोखराबाट मंगलबार भैरहवा लगिएका लामिछानेलाई विमानस्थल बाट सिधै सरकारी वकिल कार्यालय पुर्‍याइएको थियो । लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । 

रूपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछाने सहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । बुटवलको सुप्रिम सहकारी बाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछाने पक्राउ परेको विरोधमा दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यलय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी पार्टीले गरेको हो । 

लामिछाने माथिको अनुसन्धान सत्तारूढ राजनीतिक दलहरूले रा.स्व.पा.को बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रा.स्व.पा.को भनाइ छ । सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका लामिछाने माथि कास्की र रुपन्देहीमा अनुसन्धान भैरहँदा रा.स्व.पा.ले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा प्रदर्शन गर्दै आएको छ ।
 

प्रतिक्रिया