आयोजनाको म्याद थप र भुक्तानी माग्दै निर्माण व्यवसायी निरन्तर आन्दोलनमा
निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानीसहित नौ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले आज पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । व्यवसायीहरले आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरुका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार निर्माण व्यवसायीहरुको भुक्तानी नदिने र निर्माण व्यवसायीहरुले काम नै गर्दैनन् भन्ने भ्रम छर्ने काममा उद्धत भएको आरोप लगाए ।
सरकरारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइकासाथ लागू नगरेसम्म, बिना बजेटका योजनाहरु खारेज नगरेसम्म र पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलनमा जारी राख्ने चेतावनी निर्माण व्यवसायीको छ । महासंघले राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गर्न चेतावनी दिएको छ । यसैविच सरकारले समस्या समाधानका लागि नै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा विभिन्न विषयगत मन्त्रालयका सहसचिव सदस्य रहने गरी छ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई आगामी १५ दिनभित्र सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । कार्यदलमा अर्थ, भौतिक पूर्वाधार, सहरी विकासलगायतका भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
प्रतिक्रिया