वडाको काम सँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजार सँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन् । 

तीन वर्ष अघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष सय बोट बाट छ सय क्विन्टल किबी उत्पादन भएको बताए । उनले किबी सँगै कागती पनि फलाएका छन् । जनप्रतिनिधि भइसके पछि कोदो र धानखेतीमा लाग्न आफूले  समय व्यवस्थापन गर्न नसकेको उनले बताए । वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् । 

दैलेख बाट तीन सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना भएको सुनाए । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाए पछि फलाम बाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताए । हाल स्थानीय बजारमा प्रतिकेजी  दुई सय ५० देखि तीन सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हाल सम्म  दुई लाख आर्जन गरेको बताए । 

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियो भने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए । 

अलैँची पकेट क्षेत्र विस्तारका लागि १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।
रासस 

प्रतिक्रिया