रबि लामिछाने आज रुपन्देही प्रहरीको हिरासतमै रहने
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का सभापति रबि लामिछानेको बयान नसकिएपछि आज रुपेन्देहीमै बस्ने भएका छन् ।
उनलाई मंगलबार बिहान पोखराबाट रुपन्देही पठाइएको थियो । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रवि र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिबेदनमा जनाइएको छ । लामिछानेलाई भैरहवा विमानस्थलबाट सिधै बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको थियो । तर बयान नसकिएपछि उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने छन् । उनको बयान बुधबार पनि हुनेछ ।
सभापति लामिछानेलाई पोखराको सुर्य दर्शन सहकारीको रकम गैरकानुनी रुपमा अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सोही दिन लामिछानेलाई पोखरा लगिएको थियो । उनलाई आइतबार चौथो पटक जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रतिक्रिया