घुस खाएको आरोपमा मन्त्री पाण्डेको जवाफ : प्रमाणित भए पशुपतिमा गएर राजनीतिक जीवन परित्याग गर्छु

काठमाडौँ । कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफु मन्त्री भएको तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिरहँदा केहि स्वार्थ समुहका मतियारले घेराबन्दीमा पारेको बताएका छन् ।

पार्टीकै सांसद राजेन्द्र बजगाईंले करोड करोड घुस लिएर क्यासिनो सञ्चालनका लागि लाइसेन्स दिएको आरोप लगाएपछि मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले इमानदार भएर काम गर्न खोजेपनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको बताएका हुन् ।

‘करोडौँ रुपैयाँ घुस लिएको विषय केही अनलाइन सञ्चारमाध्यमलाई प्रयोग गरेर बिचौलियाका मतियारहरूले समाचार लेख्न लगाएर अनेकन आरोप लगाएका छन्,’ मन्त्री पाण्डे भन्छन्, ‘करोड त के कौडी खाएको पुष्टि गरेको दिन पशुपतिको ढोका अगाडि आएर आफ्नो राजनीतिक जीवन परित्याग गर्छु ।’

आफ्नो मनोबल र आत्मबललाई गिराउने काम भइरहेको बताउँदै उनले भने मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दीन् ।

यसअघि सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्री पाण्डेलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाएका थिए । आरोप लगाउने क्रममा बजगाईंले भनेका थिए, ‘डेरामा बस्ने मन्त्री बन्नासाथ घर किन्ने ?’ 

प्रतिक्रिया