उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
एजेन्सी । उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो ।
यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौंदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।
सियोल र सहयोगी संयुक्त राज्य अमेरिकाले आणविक शक्ति सम्पन्न उत्तर कोरियाले रुसमा हजारौं सैनिक पठाएको आरोप लगाउँदै आएका छन् । उत्तर कोरियाली सैनिकलाई रूसी पोशाकले सुसज्जित गरी कुस्र्क नजिकैको सीमामा जम्मा गरिएको ती मुलुकका सैनिक अधिकारीले बताएका छन् ।
कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार उक्त सम्झौतालाई नेता किम जोङ उनको आदेशको रुपमा अनुमोदन गरिएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त सम्झौतालाई अनुमोदन गर्न गत साता रुसी सांसदहरूले सर्वसम्मतिले मतदान गरेपछि उत्तर कोरियाका तर्फबाट यो सूचना आएको हो ।
केसीएनएले भनेको छ, “दुवै पक्षले अनुमोदनका लिखत आदानप्रदान गरेको दिनदेखि यो सम्झौता लागू हुने बताइएको छ ।”
उत्तर कोरिया युक्रेनमा रूसको आक्रमणको सबैभन्दा मुखर र महत्वपूर्ण समर्थक बनेको छ ।
पश्चिमा राष्ट्रहरूले लामो समयदेखि मस्कोलाई युक्रेनमा प्रयोग गर्नका लागि तोपका गोला र क्षेप्यास्त्रहरू आपूर्ति गरेको आरोप प्योङयाङलाई लगाउँदै आएका थिए तर हालैका हप्ताहरूमा हजारौं उत्तर कोरियाली सैनिकहरू युद्धमा संलग्न हुन तयार भएपछि यो समर्थन बढेको छ ।
दुई देशबीचको सम्झौता गत जुनमा क्रेमलिन प्रमुखको उत्तर कोरिया भ्रमणका क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए ।
यसले दुवै देशलाई एकअर्कामाथि आक्रमण भएमा ‘अविलम्ब’ सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न अन्तर्राष्ट्रिय रूपमा सहयोग गर्न बाध्य बनाएको छ ।
पुटिनले गत जुनमा भएको सम्झौतालाई ‘ब्रेक थ्रु डकुमेन्ट’ को संज्ञा दिनुभएको थियो ।
कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले भने, “द्विपक्षीय अनुमोदनसँगै प्योङयाङ र मस्कोले रूसमा उत्तर कोरियाको सैन्य तैनाथीका लागि वैधता दाबी गर्नेछन् ।”
प्रतिक्रिया