रा.स्व.पा.को प्रदर्शनले अदालतको अवहेलना भएको भन्दै परेको निवेदन सर्वाेच्चद्वारा दर्ता गर्न आदेश

काठमाडौं ।पूर्व गृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र रबि लामिछाने माथि सहकारी ठगी प्रकरणमा मुद्धा चलिरहेकै अवस्थामा अदालतको गतिबिधि बिरुद्ध आन्दोलन गरेको भन्दै परेको निवेदन सर्वाेच्च अदालतले दर्ता गर्न आदेश दिएको छ । 

अधिवक्ता अनुपम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले  लामिछानेमाथि अनुसन्धान भइरहेको बेला अदालतलाई  दबाव दिने उद्येश्यले अभिब्यक्ति दिने,जनमानसलाई उचालेर न्याय प्रक्रियामा अवरोध गर्ने र आन्दोलन गर्ने काम अदालतको अवहेलना भएको भन्दै निवेदन पेश गरेका थिए । सर्वोच्च यसअघि सो निवेदन दर्ता नगरी दरपीठ गरेको थियो । 

तर न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो ।  दर्ता आदेश भएपनि अब दर्ता कहिले हुने भन्ने टुंगो लागेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले  लामिछानेको पक्राउ बिरुद्ध प्रदर्शन गर्दै आइरहेको छ । 

सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका लामिछानेलाई आज पोखराबाट बयानका लागि  रुपन्देही पठाइएको छ ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख  र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिबेदनमा जनाइएको छ । 

सभापति लामिछानेलाई सहकारीको रकम गैर कानुनी रुपमा अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सोही दिन लामिछानेलाई पोखरा लगिएको थियो । उनलाई गत आइतबार चौथो पटक जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राखेर अनुसनधान गर्न अनुमति दिएको छ ।
 

प्रतिक्रिया