बिनाविभागीय मन्त्री बेरोजगार भएपछि वाग्मतीमा बढाइयो मन्त्रालय
मकवानपुर । वाग्मती प्रदेश सरकारले मन्त्रालय सङ्ख्या बढाएको छ । बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्नका लागि बागमति प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको हो । सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मतीमा नयाँ बनेको छ ।
यस मन्त्रालयको जिम्मेवारी मधु श्रेष्ठलाई प्रदान गरिने बताइएको छ । वाग्मतीमा १३ वटा मन्त्रालयबाट १४ वटा मन्त्रालय पुर्याइएको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार मन्त्रिपरिषद्को बैठकले उनलाई जिम्मेवारी प्रदान नगरेको छिट्टै जिम्मेवारी तोकिने बताए ।
मुख्यमन्त्री लामाले बिनाविभागीय मन्त्रीलाई बेरोजगार नै राखेको भन्दै सर्वत्र आलोचना भएपछि सरकार मन्त्रालय विभाजन गर्न बाध्य भएको बताए ।
श्रेष्ठले मुख्यमन्त्री लामासँगै साउन ९ गते शपथ ग्रहण गरेका थिए । उनी हालसम्म बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् । श्रेष्ठ नेपाली कांग्रेसका सांसद हुन् ।
मुख्यमन्त्री लामाले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गर्ने तयारी गरे पनि एमालेको अवरोधका कारण सम्भव नभएको हो ।
प्रतिक्रिया