रबि लामिछानेको समर्थनमा रा.स्व.पा.का समर्थकद्वारा भैरहवामा प्रदर्शन
काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का सभापति रबि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेको बिरोधमा रा.स्व.पा ले रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।
लामिछाने पोखराबाट भैरहवा पुगेपछि रा.स्व.पा का कार्यकर्ता र समर्थकले पक्राउको बिरोधमा नाराबाजी गरेका छन् ।
लामिछानेलाई आज बिहानै जहाज मार्फत रुपन्देही पठाउने तयारी भएकोमा मौसम नखुलेका कारण उनलाई पठाउन ढिलाइ भएको थियो । मौसम खुलेसँगै बुद्ध एयरको जहाज मार्फत उनलाई रुपन्देही पठाइएको हो । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिबेदनमा जनाइएको छ ।
लामिछानेलाई भैरहवा विमानस्थलबाट सिधै बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
सभापति लामिछानेलाई सहकारीको रकम गैरकानुनी रुपमा अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सोही दिन लामिछानेलाई पोखरा लगिएको थियो । उनलाई गत आइतबार चौथो पटक जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राखेर अनुसनधान गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया