बागलुङमा २४ वर्ष देखि रोकिएको हरिबोधिनी एकादशी मेला यस वर्ष शुरु

बागलुङ । बागलुङको निरयघाट स्थित नेपाल कै एकमात्र पबित्र नदि कालीगण्डकी किनारामा २४ वर्ष सम्म रोकिएको हरिबोधिनी एकादशी मेला यस वर्षदेखि पुनः शुरु गरिएको छ । 

२०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको थिएन । तर, यस वर्ष स्थानीय अगुवाहरूले मेला आयोजना गरेका हुन् । 

हजारौं नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र कालीगण्डकीमा तार्ने परम्परा धेरैको आकर्षणको केन्द्र थियो ।  शान्ति सुरक्षा र द्वन्द्वका कारण २४ वर्षयता हुन नसकेको मेला शुरूवात भएपछि स्थानीय र जनप्रतिनिधिले खुसी प्रकट गरेका छन् । 

मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाइ र दीप समेत प्रज्वलन गरिएको छ । विगतमा मेलामा हजारौंको भीड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागि समेत  मेला प्रसिद्ध थियो । 

२०५७ साल अघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयास भएपछि त्याँहा रातिमा लाग्ने मेला क्रमशः हराउँदै गएको थियो । 
 

प्रतिक्रिया