हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गामा श्रद्धालुको घुँईचो
गुल्मी । हरिबोधिनी एकादशी पर्वको अवसरमा गुल्मीको पबित्र धार्मिक स्थल रेसुङ्गामा श्रद्धालुहरुको घुँईचो लागेको छ ।
एकादशीको अवसरमा धार्मिक स्थल रेसुङ्गाको महापोखरीमा धार्मिक मेला लागेका कारण पनि त्यस क्षेत्रमा जाने श्रद्धालुहरुको चाप बढेको हो । हरिबोधिनी एकादशीको दिन रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीको पानीले स्नान गरे पछि चारधाम जान नपर्ने र आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरु समेत नष्टभई संवृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
त्यही मान्यता र विश्वासका कारण गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट महापोखरीमा स्नान गर्न आउने श्रद्धालुहरुको बिहानै देखिनै घँुईचो लागेको रेसुङ्गा संरक्षण समितिले जनाएको छ । रेसुङ्गाको महापोखरीमा चारधाम बाट ल्याएको जल मिसाईएको हुँदा यहाँको पोखरीको पानीले स्नान गर्नाले चारधाम जान पर्दैन भन्ने मान्यता छ ।
श्रद्धालुहरुले महापोखरीमा स्नान गरेपछि पोखरी देखि केही माथि रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने र बर माग्ने प्रचलन रहेको छ । ठुलो एकादशीको रुपमा चिनिने हरिबोधनी एकादशीलाई गुल्मीमा विशेष महत्वको रुपमा मनाउने गरिन्छ ।
रेसुङ्गाको महापोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत अर्घाखाँची, पाल्पा, स्याङ्जा, बाग्लुङ्ग, प्यूठान, रुपन्देही लगायत धेरै टाढा टाढा बाट पनि श्रद्धालुहरु आउने गर्दछन् । एकादशीको अवशरमा रुद्रवेणी र कालीगण्डकी नदीमा पनि आज बिहानै देखि स्नान तथा पुजापाठ गर्नेहरुको घुइँचो लागेको छ ।
एकादशी पर्वको अवसरमा रेसुङ्गामा लाग्ने धार्मिक मेलालाई लक्ष्छित गरि यहाँका स्थानीय पालिकाहरुले पनि आज सार्वजनिक बिदा दिएका छन । धार्मिक मेलाको अवसरमा रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।
प्रतिक्रिया