साल्ट कर्पोरेशन धनुषा द्वारा १८ करोड ६२ लाखको नुन बिक्री
जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।
धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीन वटा जिल्लामा आफ्ना २५ डिलर मार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा पाँच करोड २३ लाख मूल्य बराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दशैं तिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।
गत असोज ७ गते देखि कात्तिक २९ गते सम्म सञ्चालन हुने सोसहुलियतदरको पसल बाट हाल सम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर दुई लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए । सहुलियत दरका सो पसल बाट २४ प्रतिप्याकेट तथा सोझै डिलर मार्फत २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ ।
यस्तै, सो कार्यालयले रासायनिक मलको कारोबार समेत गर्दै आएको प्रमुख साहले जानकारी दिए । रासस
प्रतिक्रिया