राष्ट्रपति पौडेलले आज बाकुमा जारी २९औँ कोप सम्मेलनलाई सम्बोधन गर्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अजरबैजानको बाकुमा जारी कोप सम्मेलनलाई सम्बोधन गर्दैछन् ।
अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति पौडेलले आज र भोली हुने ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने तालिका छ ।
सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठक समेत हुनेछ । नेपाल जलवायुको असर बाट सबै भन्दा बढी प्रभावित हुने मुलुक मध्ये पर्छ । यसैले कोप–२९ मा नेपालले आफ्ना विषय महत्त्वपूर्ण ढंगले प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
जसमा मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटना बाट भएको क्षति बारे जानकारी गराउने बताइएको छ । सम्मेलन आगामी मङ्सिर ७ गते सम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।
प्रतिक्रिया