रवि लामिछानेलाई रुपन्देही लगिँदै

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरण अन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिने भएको छ ।

रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछाने सहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको अनुमति अनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही लागिएको हो । 

पोखरा बाट बिहानको पहिलो उडान बाट रुपन्देही ल्याउन लागिएको रुपन्देही प्रहरीले जनाएको छ । विमानस्थल बाट लामिछानेलाई सिधै भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिने छ । त्यसपछि जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालयमा लगिने छ । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानूनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी सँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो । 

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारी बाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । 

जोशी र लामिछाने सहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारी बाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया