कुलमानलाई सरकारको चेतावनी: निर्णय कार्यान्वयन नगरे क्षम्य हुँदैन

काठमाडौ। सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय विद्युत प्राधिकरणले कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन्। सोमबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सरकारले गरेका निर्णयहरूमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्नेकुरा क्षम्य नहुने बताएका हुन्।  
‘राजस्व र विद्युत् महसुलको बक्यौता पनि उठ्नुपर्छ। सरकारको यो निर्णय ऊर्जा, जलस्रोत सिँचाइ मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने तदारुकता देखाउनुपर्छ’, उनले भने, ‘नेपाल सरकारले गरेका निर्णयबारे कर्मचारीले आफ्नो धारणा राख्न त पाउँछ, तर सरकारको निर्णय कार्यान्वयन गर्दिनँ भनेर कसैले भन्छ भने त्यो क्षम्य हुँदैन।’
डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत महसुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन सरकारले निर्देशन दिएको उनले बताए।

प्रतिक्रिया