सरकारविरुद्ध आक्रामक बन्दै माओवादी, मंसिरभित्र देशभर नै आन्दोलन गर्ने

माओवादी पदाधिकारी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध देशभर नै आन्दोलन गर्ने भएको छ ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले मंसिर महिनाभित्रै देशभरका सबै स्थानिय तहमा खबरदारी सभा गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा यसअघि नै खबरदारी सभा गरिसकेकाले मंसिरभित्र सबै स्थानिय तहमा खबरदारी सभा गर्ने माओवादीको निर्णय भएको छ । मंसिरमा नभ्याएका स्थानिय तहमा पुस २ देखि बस्ने केन्द्रीय कमिटी बैठकपछि सभा गरिने बैठकमा शहभागी एक नेताले जानकारी दिए ।

स्थानिय तहको खबरदारी सभा कार्यक्रम सम्बन्धित प्रदेशले अनुकूलता हेरेर बनाउने माओवादीले बताएको छ । प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमालेले मिलेपछि सत्ताबाट हुत्तिएको माओवादी ओली सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।

सरकारले भ्रष्टाचारी र बिचौलियालाई जोगाउन र विपक्षीलाई निशाना बनाउँदै हिँडेको माओवादीको निष्कर्ष छ । अहिलेको सरकार अधिनायकवादी र तानाशाही बन्दै गइरहेको पुष्टि भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको भन्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको उनको भनाइ छ ।

सापकोटाले जनजीविकाको सवालमा पनि सरकार चुकिरहेको निष्कर्षसहित खबरदारी सभा देशव्यापी विस्तार गर्ने योजना बनाएको बताए ।

प्रतिक्रिया