सरकारद्वारा विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउन बोलकबोल खुला
आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने
नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन बोलकबोल खुला गरेको छ । विकास ऋणपत्र खरिदका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने छ । सरकारले राष्ट्र बैंकमार्फत विकास ऋणपत्र बोलकबोल मार्फत ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८८ ‘ख’ नाम दिइएको उक्त ऋणपत्रको भोली हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ । ऋणपत्रको ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ बताइएको छ । ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशतले हुनेछ । प्रतिस्पर्धीतर्फ अर्ब अर्ब ५० करोड र अप्रतिस्पर्धी एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएर कारोबार हुनेछ ।
प्रतिक्रिया