खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लामा धान खरिद

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लामा धान खरिद प्रक्रिया अगाडि बढाएको छ । दशैंपछिबाट धान किन्न सुरु गरेको कम्पनीले हालसम्म १४ हजार ८५९ क्विन्टल धान खरिद गरेको जनाएको छ ।

कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ मा ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य छ । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा विभिन्न जिल्लामा धान खरिदको काम अगाडि बढाएको हो । सरकारले चालु आवका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४ सय १० र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ५ सय ८० रुपियाँ निर्धारण गरेको छ । सोही मूल्यमा कम्पनीले धान खरिद गरेको छ । किसानबाट धान खरिद गर्नका लागि यस वर्ष दुई अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको कम्पनीले जनाएको छ ।

 कम्पनीले पहिलो चरणमा दाङको तुलसीपुरबाट २ सय २३ क्विन्टल, कञ्चनपुरको महेन्द्रनगरबाट ८१२ क्विन्टल धान किनेको छ । यस्तै धनगढीबाट पाँच हजार ४ सय ८० क्विन्टल, बर्दियाको राजापुरबाट छ हजार ९ सय ९६ र बाँकेको नेपालगन्जबाट एक हजार ३ सय ५८ क्विन्टल धान खरिद भएको छ । कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गर्दै आएको छ । गत वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेकोमा चार हजार पाँच सय मेट्रिक टन मात्र धान खरिद गरेको थियो ।

प्रतिक्रिया