गोमालाई प्रतिनिधि सभा सदस्यवाट पदमुक्त गर्न जनमतलाई पत्राचार
काठमाडौं । जनमत पार्टीले प्रतिनिधि सभा सदस्य गोमा लाभ सापकोटालाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ अनुसार जनमतले सापकोटालाई दलबाट निष्कासन गरिएको जानकारी सचिवालयलाई दिएको हो । जानकारी पत्र अब सचिवालयले सभामुखसमक्ष पेस गर्नुपर्ने छ ।
सभा चलिरहेको अववस्थामा यस्तो सूचनाको जानकारी सभामै दिनुपर्ने व्यवस्था कानुनमा छ । कानुनले ह्विप उल्लङ्घन गरेमा वा दल त्याग गरेमा सदस्यलाई निष्कासनको अधिकार दललाई दिएको छ । सापकोटाको हकमा अहिलेसम्मका सबै पत्राचारमा ह्विप र दल त्यागको जानकारी भने जनमतले संलग्न गर्न सकेको छैन । सापकोटालाई पदबाट हटाउन जनमतले पत्राचार गरेको यो तेस्रो पटक हो । यसअघि दुई पटकसम्म कारबाहीको निर्णय अस्वीकृत भएको थियो ।
सभामुख देबराज घिमिरेले सापकोटामाथिको कारबाही कानुन र प्रक्रियागत रूपमा समेत प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको बताएका थिए । आठ महिनाको अवधिमा तेस्रो पत्राचार दलले गरेको हो । संसद् सचिवालयका अनुसार कात्तिक १ गते उक्त पत्र सचिवालयमा पुगेको थियो । औपचारिक रूपमा पत्र दर्ता भएको छैन ।
यसअघि दुई पटकसम्म गरेको पत्राचारमा कुनै तथ्यगत बेहोरा थप नगरी पुनः पत्र पठाइएको हो । सापकोटामाथि दल विभाजनका लागि सक्रियता बढाएको आरोप कारबाहीका क्रममा लगाइएको छ । यस्तै निर्माण व्यवसायीसँग रकम माग गरेको आरोप पनि दलले सापकोटामाथि लगाएको छ
प्रतिक्रिया