मन्त्रिपरिषद हेरफेर गर्ने प्रधानमन्त्री दाहालको तयारी, जनमत कि अनिता देवीलाई मन्त्री बनाइँदै
प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएको हो । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । गत असारमा सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्रीकै दलको कोटामा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । जनमत पार्टी यसअघि पनि दाहाल नेतृत्वको संघीय सरकारमा सहभागी भएको थियो । तर मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै गत चैत १७ गते सरकारबाट बाहिरिएको थियो । दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले २५ सदस्यीय भएकाले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदा वर्तमान एक मन्त्रीलाई हटाउनु पर्नेछ । हाल माओवादीबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन् । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का एक सदस्य हटाउनुपर्ने हुन्छ । माओवादी कोटाका एक मन्त्री हटाएर जनमतलाई सरकारमा लैजान लागिएको हो । अर्का एक मन्त्रीलाई पनि फिर्ता बोलाएर सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने दाहालको तयारी छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने तयारी छ ।
प्रतिक्रिया