अलैचीको मूल्य वृद्धि
काठमाडौं । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको मूल्य मन अर्थात ४० किलोग्रामको अर्थात् ९७ हजार रुपियाँ पुगेको हो ।
शनिबार प्रतिमन ९७ हजार रुपियाँमा कारोबार भएको छ । ठुलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैँची उक्त मूल्यमा खरिदबिक्री भएको हो । सामान्य अर्थात् चलनचल्तीको अलैँची भने प्रतिमन ९१ हजार रुपियाँमा कारोबार भएको छ । शुक्रबारसम्म अलैँचीको मूल्य स्थानीय बजारमा मनको ९० हजार रुपियाँ रहेको थियो । प्रतिमन एक हजार र एक हजार पाँच सय रुपियाँले वृद्धि हुँदै आएको अलैँचीको मूल्य यस पटक एकैचोटी छ हजार रुपियाँभन्दा बढीले वृद्धि भएको हो ।
यस वर्ष अलैँची बजारमा उपलब्ध हुन सुरु हुँदा नै मूल्य मनको ६० हजार रुपियाँभन्दा माथि थियो । अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको छ । हिजोआज लेक क्षेत्रमा रहेको बगानबाट किसानले धमाधम अलैँची निकाली रहेका छन । मङ्सिर पहिलो सातासम्ममा अलैँची टिप्ने र थन्क्याउने काम सकिने किसानको भनाइ छ ।
प्रतिक्रिया