महिला क्रिकेट : युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोट
काठमाडौं । युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार युएईको अजमानमा भएको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डमाथि १ सय ६ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो ।
थाइल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २–२ तथा कप्तान पूजा महतोले १ विकेट लिईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।
नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक ५३, अर्का ओपनर सावित्री धामीले २८, सोनी पाख्रिनले १९ रन बनाईन् । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।
कार्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले पाँचौ खेलमा कार्तिक २७ गते कुवेत र अन्तिम खेलमा कार्तिक २८ गते युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष मलेसियामा हुने विश्व कपका लागि छनोट हुने छ ।
प्रतिक्रिया