मनसुन सक्रिय भएका कारण देशका सबैजसो स्थानमा ठूलो वर्षा

नदी र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय भएका कारण गएराति देशका सबैजसो ठाउँमा ठूलो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वदेखि पश्चिमसम्म र हिमालीदेखि तराईका जिल्ला सबैतिर गएराति पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङको खुदीबजारमा १ सय २३ मिलिमिटर र सिन्धुलीको मरिणमा १ सय २० मिलिमिटर वर्षा भएको छ ।  यस्तै, नेपालगञ्ज विमानस्थलमा ७० मिलिमिटर वर्षा भएको छ भने बाँकेकै कुशुममा ५०,  गोरखाको बारपाकमा ७३ र दाङको शुक्रबारेमा ४३ मिलिमिटर वर्षा मापन भएको छ । बाग्मती जलाधारको सिन्धुली, मरिन कुशुनटार र आसपासमा ठूलो पानी परेको छ । ती क्षेत्रको कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले आज बिहानसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै, गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको छ । सुनसरीको धरान र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाले भोलि सोमवारसम्म नै देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।बाढी÷पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन पनि आग्रह गरिएको छ । त्यस्तै, आज र भोलि बाग्मतीसहित नारायणी, कर्णाली, राप्ती, बबई, महाकाली नदी र सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने अनुमान छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउसो पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । 

प्रतिक्रिया