स्थानीय तहका कर्मचारीका लागि सेवाकालीन प्रशिक्षण
विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको एक समारोहबीच विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गरे ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको सो प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुने भएको छ । तालिममा विराटनगर महानगरपालिकाका १२ जनासहित कोशी प्रदेशका १२ स्थानीय तहका ८० कर्मचारीको सहभागिता रहेको महानगरकी सूचना अधिकृत अनिता कोइरालाले जानकारी दिइन् ।सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
उनले छिटोछरितो रुपमा जनताको काम गर्न कर्मचारीलाई आग्रहसमेत गरे । कर्मचारीले गर्ने कार्यसम्पादनका आधारमा जनप्रतिनिधिको मूल्याङ्कन हुने उनको भनाइ थियो । जनप्रतिनिधि बनाएका नीतिनियमको कार्यान्वयन गर्ने दायित्व कर्मचारीको भएको प्रमुख कोइरालाको भनाइ थियो ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले तालिमबाट कार्यालय सञ्चालन र व्यवस्थापनबारे जानकारी लिन सकिने बताए । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत बुद्धिप्रसाद घिमिरे र लेखा अधिकृत सन्तलाल श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।
प्रतिक्रिया