ट्रम्पको प्रशासनमा हेली र पोम्पेओ नरहने,धनाढ्य मस्कलाई महत्वपूर्ण जिम्मेवारी दिइने
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले निक्की हेली र माइक पोम्पेओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने भएका छन्।
अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा विजयी भएका ट्रम्पले आफ्नो भावी मन्त्रिपरिषद्लाई स्वरुप दिने प्रयास गरिरहेकामा हेली र पोम्पोओलाई जिम्मेवारी नदिने बताएका हुन् ।
ट्रम्पका नजिकका सहयोगीरूले हेली र पोम्पेओलाई ’डिप स्टेट’ अर्थात् पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थ रक्षाका लागि काम गर्ने गोप्य सरकारी संयन्त्रको प्रतिनिधि भएको आरोप लगाउने गर्छन्। दुवैले ट्रम्पको ‘अमेरिका पहिलो’ नारालाई अवमूल्यन गरेका उनीहरूको तर्क छ। तर ट्रम्पले “म विगतमा उनीहरूसँग काम गर्दा प्रसन्न भएँ र त्यसको प्रशंसा गर्छु र उनीहरूलाई हाम्रो देशको सेवा गरेकोमा धन्यवाद दिन चाहन्छु,” भनेर सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्।
निर्वाचनका बेला साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेलीले ट्रम्पको चर्को आलोचना गरेकी थिइन्। ट्रम्पलाई उनले ‘मानसिक रूपमा अस्थिर’ रहेको आरोप लगाएकी थिइन्।
हेलीलाई कुनै भूमिकाका लागि विचार नगरिनुलाई खासै आश्चर्यजनक घटनाका रूपमा नलिइएको भए पनि तर पूर्व सीआईएका निर्देशक माइक पोम्पेओ रक्षा मन्त्रीको दाबेदार रहेका थिए।कन्सासका पूर्व कङ्ग्रेस सदस्यले विगतमा मध्यपूर्वमा ट्रम्पको कूटनीतिक गतिविधिको नेतृत्व गरेका थिए । तर ट्रम्पको घेराका प्रभावशाली व्यक्तित्वहरूले पोम्पेओ र हेलीको विपक्षमा लबिङ गरेका छन् । ट्रम्पले बिश्वकै धनी व्यक्ति मानिएका एलन मस्कलाई भने महत्वपूर्ण जिम्मेवारी दिन लागेका छन् । मस्क ट्रम्पलाई जिताउन खुलेरै लागेका थिए ।
प्रतिक्रिया