बाइडेन र ट्रम्प बीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्ष अघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए पछि दुई नेता बीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता गर्ने भएका छन् ।  

सन् २०२० को चुनावमा हार अस्वीकार गरेका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदान बाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमत सहित पुनरागमन गरेपछि राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । 

निवर्तमान र भावी राष्ट्रपतिहरू बीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर, जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित  सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गरेका थिएनन् । 

ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा भाग नलिई नजिर तोडेका थिए । तर, ह्वाइट हाउसले डेमोक्र्याटिक राष्ट्रपति आगामी समारोहमा सहभागी हुने जनाएको छ । ह्वाइट हाउसका अनुसार पूर्व राष्ट्रपति ट्रम्पले निर्वाचनमा पाएको बहुमत सँगै निर्धारण गरिएको बाइडेन र ट्रम्प बीच हुने भेटवार्ता ‘ओभल अफिस’मा हुनेछ ।

फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफ द्वारा ‘फाँसीवादी’ भएको आरोप खेप्नुपरेका पूर्व रियालिटी टिभी स्टार समेत रहेका ७८ वर्षीय ट्रम्पले पहिलेको भन्दा धेरै मतान्तरले जित हासिल गरेका छन् । 

एक्जिट पोलले मतदाताको मुख्य चिन्ता कोभिड महामारीका कारण बाइडेनको नेतृत्वमा बढेको अर्थतन्त्र र मुद्रास्फिति रहेको देखाएको छ । आफ्नो उमेर, स्वास्थ्य र मानसिक तीक्ष्णताको चिन्ताका कारण जुलाईमा ह्वाइट हाउसको दौड बाट बाहिरिएका ८१ वर्षीय राष्ट्रपति बाइडेनले बुधबार ट्रम्पलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका थिए । 


 

प्रतिक्रिया