इजरायली आक्रमणमा १३ बालबालिका सहित ३० जनाको मृत्यु

एजेन्सी । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भू(भागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिका सहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिका सहित कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालिया लगायत क्षेत्रमा हमास लडाकू समूहलाई पुनः सङ्गठित हुन बाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् । “अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्,” प्यालेष्टिनी सुरक्षा निकायले भनेको छ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमण पछि गाजामा युद्ध शुरु भएको थियो।
 
इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको मृतक मध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनान तर्फ विस्तार भएको देखिन्छ ।
रासस 

प्रतिक्रिया