कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारीलाई प्रहरीले विराटनगर स्थित निवास बाटै पक्राउ गरिएको हो ।

स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको र आजै दिउँसो एक बजे हवाईजहाज मार्फत् काठमाडौं पठाउने तयारी गरिएको छ । 

तत्कालीन मन्त्री अधिकारीले प्रदेश मन्त्रीपरिषद्को निर्णयबिना तथा सङ्घीय सरकार तथा परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना यही कात्तिक १४ गते  खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा सहित जापान गएका थिए । 

मन्त्री अधिकारी बाहेक अन्य तीन जनालाई भने टोकियो स्थित जापानको अध्यागमन कार्यालय प्रवेश अनुमति नदिई नेपाल डिपोर्ट गरेको थियो । नेपाल फर्काइएका तीन जनालाई सोही दिन अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो । 

सोही प्रकरणमा नक्कली कागजपत्र तयार गर्ने गरी लिखत सम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर लामालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

आफू माथि लागेको आरोप पछि मन्त्री अधिकारीले गत बुधबार पदबाट राजीनामा दिएका थिए । 

प्रतिक्रिया