स्पेनमा बाढी पछि रुष्ट भएका जनताले गरे सरकार विरुद्ध प्रदर्शन

एजेन्सी । सरकारको लापरवाहीका कारण बाढीमा मानवीय र भौतिक क्षति भएको भन्दै स्पेनमा सरकार विरुद्ध भइरहेको प्रदर्शन चर्किएको छ । 

स्पेनको भ्यालेन्सियामा हजारौं मानिस भेला भएर सरकार विरुद्ध चर्को नारावाजी गरेका छन् । प्रदर्शनकारीले क्षेत्रीय प्रमुख कार्लोस माजोनको राजीनामा माग गर्दै नारावाजी गरेका हुन्  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रोशित सर्वसाधारणले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरु बीच ठाउँठाउँमा झडप भएको छ । बाढी आउने पुर्वानुमान बारे सर्वसाधारणलाई समयमै जानकारी नगराएको भन्दै सर्वसाधारण आक्रोशित भएका हुन् । 

प्रदर्शनलाई ध्यानमा राखी त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भ्यालेन्सिया सिटी काउन्सिलले बाढीका कारण देश शोकमा डुबेका बेला भएको यस प्रकारको प्रदर्शन शोभनीय नभएको भन्दै प्रदर्शन रोक्न आव्हन गरेको समाचारमा उल्लेख छ । 

यसअघि स्पेनका राजा र रानीलाई सबै भन्दा बढी प्रभावित पाइपोर्टा शहरको भ्रमणका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले माटो र अन्य वस्तुहरू प्रहार गरेका थिए । गत अक्टोबरमा भारी वर्षापछि आएको बाढीमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरुमा २ सय जनाको मृत्यु भएको थियो भने बेपत्ता भएका ८० जनाको अवस्था अझै अज्ञात छ । 

बाढीका कारण सयौ घरहरु बगाउँदा हजारौं विस्थापित भएका छन् ।

प्रतिक्रिया