३१ वर्ष पछि वागीश्वरी सडक कालोपत्र

तनहुँ ।  ३१ वर्ष पछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र शुरु गरिएको छ । सङ्घीय सरकार बाट ४ करोड बजेट विनियोजन भए पछि उक्त सडक कालोपत्र गर्न शुरु गरिएको हो । 

बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडक अन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ । पहिलो चरणमा व्यास नगरपालिका–११ शेरा बाट ढुङ्गाखानी सम्म कालोपत्र हुँदैछ । हाल सम्म ८५० मिटर कालोपत्र भइसकेको छ । 

मुकुन्देश्वरी पदमार्ग निर्माण 

यसैबीच, जिल्लाको पर्यटकीय स्थल बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिर बाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ । थानीमाई मन्दिर बाट निर्माण शुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ । यो पदमार्गलाई मुकुन्देश्वरी गढी सम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । 

गाउँपालिकाको गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ । 
रासस 

प्रतिक्रिया