न्यूनचापीय रेखा नेपाल नजिकै सर्दा आज देशका अधिकांश स्थानमा वर्षा हुदैँ
काठमाडौँ । न्यूनचापीय रेखा नेपाल नजिकै सर्दा आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना रहेको बताइएको छ ।
आगामी सोमबारसम्मै देशभर पूर्ण बदली हुने र पानी पर्ने पूर्वानुमान गरिएको छ । गएरातिदेखि देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशको नुवाकोटस्थित ककनी जलमापन केन्द्रमा ६ घण्टाको अवधिमा भारी वर्षा रेकर्ड भएको छ ।
गत २४ घण्टामा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा मापन भएको छ । आज देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाइएको छ । भोलि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।
प्रतिक्रिया