यु–१९ महिला विश्वकप क्रिकेट : नेपालले आज थाइल्याण्ड विरुद्व खेल्ने

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आइतबार आफ्नो चौथो खेल थाइल्याण्ड विरुद्व खेल्ने भएको छ । 

नेपाल र थाइल्याण्ड बीचको खेल आइतबार दिउँसो सवा ३ बजे शुरु हुने छ । गत बुधबार देखि शुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्ड सँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेत सँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल युएई सँग १३ रनले पराजित भएको हो । 

प्रतियोगितामा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्का सँग दुई दुई खेल खेल्ने छन् । सहभागी चार टोली मध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ ।

यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
रासस 

प्रतिक्रिया