समाजमा सकारात्मक प्रेरणाका स्रोत नै फोटो पत्रकार हुन् : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएका बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आज शनिबार  आयोजित २७ औँ वार्षिक साधारणसभा तथा १३औँ केन्द्रीय अधिवेशन कार्यक्रममा उनले फोटोबिना अधिकांश समाचार अधुरा हुने भएकाले समाजमा फोटो पत्रकारको महत्त्व उल्लेखनीय भएको बताए ।

मन्त्री यादवले भने, “समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएकाले उनीहरूका चुनौती पनि धेरै छन्, सरकारले तपाईंहरूका समस्याहरू समाधान गर्न आवश्यक छ, सरकार त्यसका लागि सधैँ सकारात्मक रहेको छ ।”यसैगरी, मन्त्री यादवले फोटो पत्रकारहरूलाई आवश्यक पर्ने स्रोतसाधन खरिददेखि उनीहरूको जोखिम बढी हुने भएकाले सरकारले नै फोटो पत्रकारको बीमाको व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, “समाचार सङ्कलनका क्रममा सबैभन्दा बढी फोटो पत्रकार जोखिममा पर्ने गरेका छन्, तपाईहरूको बीमा सरकारले गरिदिनुपर्छ, त्यसका लागि मैले के सहयोग गर्छु ।”फोटो पत्रकारहरूको सुरक्षाको प्रत्याभूति सरकारले लिने र फोटो पत्रकारका सुखदुःखमा सरकारले सधैँ साथ दिने मन्त्री यादवले विश्वाससमेत दिलाए ।

उनले भने, “तपाईँहरूको साथ र सहयोग सरकारलाई आवश्यक छ, हामी पनि तपाईंहरूको साथमा छौँ, बसेर सरसल्लाह गरौँ, सरकारले के सहयोग गर्नुपर्छ, सरकार तयार छ ।”नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजको फोटो पत्रकारको ठूलो महत्त्व रहेकाले फोटोग्राफी मात्रै नभएर फोटो पत्रकार हुनु आवश्यक रहेको बताए ।

अहिलेको नयाँ प्रविधिले समाजका केही गर्नलाई फोटो पत्रकारिताको माग बढाएको समेत उनले बताए । अध्यक्ष बस्नेतले भने, “हामीले अनुशासनमा बस्न सकेनौँ, पत्रकारिता बुझ्न सकेनौँ भने र विश्वसनीयता राम्रोसँग बुझ्न सकेनौँ भने क्यामेरा बोकेको कुनै अर्थ हुँदैन ।” उनले केही युट्युब अनलाइनका कारण पत्रकारिता क्षेत्रमा विश्वसनीयता घट्न थालेको र त्यस्ता युट्युब अनलाइनलाई प्रेस काउन्सिल नेपालले सचेत गराएको जानकारी दिए ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकाररिता आफैँमा जोखिमयुक्त पेसा भए पनि आफूहरूले समाजमा सकारात्मक रुपमा काम गरिरहेको बताए । राष्ट्रिय फोटो पत्रकार समूह नेपालमा देशभरिमा कम्तीमा पनि पाँच सयजना फोटो पत्रकार आबद्ध रहेको जानकारी दिइएको थियो ।कार्यक्रममा सञ्चारिका समूह नेपाल अध्यक्ष लगायतका विभिन्न व्यक्तिले शुभकामना प्रदान गरेका छन् । आजको उक्त कार्यक्रममा सातजना फोटो पत्रकार तथा फोटो पत्रकार रामेछाप जिल्ला शाखालाई पुरस्कृत गरेको  थियो ।
 

प्रतिक्रिया