एमालेको निर्णय : दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बदलिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कुटनीतिमा विकसित घटनाक्रम बारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशसँग असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको हो ।

बैठकले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई आसन्न चीन भ्रमण अधिकतम उपलब्धिमुलक बनाउन आग्रह गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यसपटक प्रधानमन्त्री ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिने बताए ।

एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बैठकले तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । एमालेले सरकारको ४ महिने कार्यकालको समीक्षा गर्दै सरकार ठिक ढंगले अघि बढिरहेको निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रिया