एमाले बैठकद्वारा कोशीका सांसद अधिकारी माथि प्रदेशले गरेको कारवाही अनुमोदन
काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीमाथि कोशी प्रदेश कमिटीले गरेको कारबाही अनुमोदन भएको गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अधिकारीलाई निलम्बन गर्ने प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीले अधिकारीमाथि गम्भीर प्रश्न उठेकाले ती प्रश्नको कानूनी निरुपण नभएसम्म कोशी प्रदेश कमिटीले अधिकारीलाई पार्टीको साधारण सदस्य लगायत सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको त्यसलाई पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको बताए ।
निवर्तमान मन्त्री अधिकारी मन्त्री पदमा बहाल रहेका बेला प्रदेश मन्त्रीपरिषद्को निर्णयबिना तथा सङ्घीय सरकार तथा परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना यही कात्तिक १४ गते खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा सहित जापान गएका थिए ।
वैदेशिक भ्रमणको मापदण्ड पूरा नगरी जापान पुगेकोमा त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात रहेको भन्दै उनी बाहेक ती तीन जनालाई फिर्ता पठाएपछि अधिकारमिाथि प्रश्न उठेको छ । नैतिक प्रश्न उठेपछि अधिकारीले मन्त्रीबाट भने राजीनामा दिइसकेका छन् ।अधिकारी सँगै जापान गएका तीनजना शेर्पा,राई र देवकोटालाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
शनिबार एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले मानव तस्करीको आरोप लागेका अधिकारीलाई पार्टीको सबै पदबाट निलम्बन गरिएको विज्ञप्ति मार्फत बताएका थिए । त्यसैलाई एमालेको सचिवालय बैठकले अनुमोदन गरेको हो ।
प्रतिक्रिया