सरकार र राजनीतिक दलहरू चुक्न नहुने राष्ट्रपतिको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंहको ११०औ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक भएको पनि बताए ।

उनले मुलुकभित्रै भविष्य सुनिश्चितताको चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्न यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको पनि स्पष्ट पारे । राष्ट्रपति पौडेलले मुलुकमा भ्रष्टाचार, विकृति र विसङ्गति हटाएर अवसरबाट वञ्चित, गरिब र पिछडिएका जनताको आवाज र असन्तुष्टि संवोधन गर्नुपर्ने पनि बताए ।

राष्ट्रपति पौडेलले नेपालमा लोकतन्त्र स्थापना र पुरस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उल्लेख गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताए । नेता सिटौलाले संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटि भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्ने मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेका थिए ।

प्रतिक्रिया