हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम र नागरिक उड्डयन मन्त्रालयलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय कटौती गरिएपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम र नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेकी छिन् ।
विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौँ उडानमा कटौती गरेका छन् । यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो ।
श्रममन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री राणाले विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि आग्रह गरेकी हुन् । बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिले समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री राणालाई ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरुले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेको जानकारी गराएका थिए ।
प्रतिक्रिया