मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद अधिकारी पार्टीबाट निलम्बित

काठमाडौं । नेकपा एमाले कोशी  प्रदेश सांसद लिलाबल्लब अधिकारी पार्टीबाट निलम्बित भएका छन् । 

मानव तस्करी मुद्दामा जोडिएपछि शनिबार एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुंगो नलाग्दासम्म उनलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेका हुन् ।
निवर्तमान मन्त्री  अधिकारीले मन्त्री पदमा बहाल रहेका बेला प्रदेश मन्त्रीपरिषद्को निर्णयबिना तथा सङ्घीय सरकार तथा परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना यही कात्तिक १४ गते  खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा सहित जापान गएका थिए ।

वैदेशिक भ्रमणको मापदण्ड पूरा नगरी जापान पुगेकोमा त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात रहेको भन्दै उनीबाहेक ती तीन जनालाई फिर्ता  पठाएपछि अधिकारमिाथि  प्रश्न उठेको छ । नैतिक प्रश्न उठेपछि अधिकारीले मन्त्रीबाट भने  राजीनामा दिइसकेका छन् ।अधिकारी सँगै जापान गएका तीनजना शेर्पा,राई र देवकोटालाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । 

एमाले  कोशी प्रदेश अध्यक्ष खतिवडाले बिज्ञप्ति मार्फत अधिकारीलाई निलम्बन गरिएको जनाएका हुन् । ..मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलावल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ खतिवडाले विज्ञप्तिमा भनेका छन् ।

अधिकारी २०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । 

प्रतिक्रिया